काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणाम दिनेगरी काम गर्न सक्नुपर्ने बताएका छन् । आज (सोमबार) पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले रिजल्ट देखिनेगरी काम गर्न सक्नुपर्ने बताएका हुन् । महामन्त्री थापाले सरकारको सन्दर्भमा कांग्रेसको तर्फबाट भएको कमिटमेन्टमा आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताए । सरकार ढाल्ने र बनाउने ‘पोलिटिकल एड्भेन्चर’ मा आफूहरु नलाग्ने पनि उनले सुनाए ।
‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं । कांग्रेस पार्टीको तर्फबाट हाम्रो कमिटमेन्ट छ । हामी तलमाथि, कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं । हामी यसलाई अगाडि बढाउँछौं । तर, यो समयको हामी प्रयोग गर्न चाहन्छौं । बस्नका लागिमात्रै सरकार भएर हुँदैन । सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं,’– उनले भने ।
उनले भने , ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ भने राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठुलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाता गरेका थियौँ । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरूप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरूप हामी अब काम गर्न चाहन्छौँ ।’
उनले थपे, ‘नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो अर्थतन्त्रमा देखिएका जति पनि समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसद्ले केही कानुनहरू पारित गरेको छ । त्यो सुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्स लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’
प्रतिक्रिया