काठमाडौं, १५ माघ । नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय विपक्षी दलहरुले सरकारको आयुलाई लिएर विभिन्न टिकाटिप्पणी गरिरहेको उल्लेख गर्दै उनले सरकार सहमतिअनुसार अघि बढिरहेको र कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हिजो सार्वजनिक कार्यक्रममा समेत सरकारको आयुलाई लिएर कडा टिप्पणी गरेका थिए । आजपनि उनले त्यही भनाई दोहोर्याए ।
उनले विपक्षीहरुले सरकार ढल्दैछ भनेर भ्रम फैलाएको र उनीहरुको सपना कहिल्यैपनि पूरा नहुने दाबी गरे । उनले बरु प्रचण्डको नाम लिएर सरकार ०८४ को निर्वाचन गरेपछि ढल्ने दाबी गरे ।
उनले सदनमा सरकारले ल्याएका अध्यादेशको डटेर पक्षमा वकालत गर्न सांसदहरुलाई निर्देशन दिए । सदनको अब सुरु हुने अधिवेशनमा अध्यादेश निर्णायार्थ पेश गरिने जानकारी गराए ।
सत्ता गठबन्धनको बैठकमा समेत अध्यादेशको पक्षमा सांसदहरुले आवाज उठाउने सहमति भएको कुरा प्रधानमन्त्री ओलीले आज दोहोर्याएका हुन् ।
सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए। ओलीले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरु प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको स्पष्ट पारे।
उनले राष्ट्रिय राजनीति लोकतान्त्रिक मूलधारको एउटा ट्रयाकमा अगाडि बढे पनि केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टि जनाए।
उनले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको धारणा राखे।
उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए।
प्रतिक्रिया