भैरहवा (रूपन्देही) । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष गायिका आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा उत्रिएका 'लुम्बिनी बचाउ महाअभियान'का संयोजक अकरम खाँलाई प्रहरीले मध्यराति पक्राउ गरेको छ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। खाँसँगै अभियानका अर्का अभियन्ता बाजिउद्दिन मुसलमान पनि पक्राउ परेका छन्।
रूपन्देही प्रहरी प्रमुखका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिरमा आगो लगाएको (फोटो जलाएको) आरोपमा उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
किन भएको थियो आनी छोइङको नियुक्तिको विरोध?
सरकारले गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट चर्चित गायिका तथा बौद्ध भिक्षु आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। यो नियुक्ति सार्वजनिक भएसँगै 'लुम्बिनी बचाउ महाअभियान' र केही स्थानीय संघर्ष समितिहरूले विभिन्न गम्भीर आरोप लगाउँदै निर्णय खारेज गर्न माग गरिरहेका छन् ।
संयोजक अकरम खाँ र महाअभियानले आनी छोइङमाथि मुख्य गरी तीनवटा विषयमा प्रश्न उठाउँदै आएका थिए:
मध्यरातिको धरपकडप्रति महाअभियानको कडा आपत्ति
खाँ पक्राउ परेको घटना सार्वजनिक भएलगत्तै लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक रामविकास चौधरीले एक वक्तव्य जारी गर्दै प्रहरी प्रशासनको यस कदमको कडा शब्दमा भर्त्सना गरेका छन् । घरमा शान्तिपूर्ण रूपमा सुतिरहेको अवस्थामा मध्यरातमा अपराधीलाई जस्तो व्यवहार गरी उठाइनु लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको अभियानको ठहर छ ।
अभियानले सरकारले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई दबाउन खोजेको आरोप लगाउँदै संयोजक अकरम खाँ र बाजिउद्दिन मुसलमानलाई अविलम्ब र निःशर्त रिहा गर्न माग गरेको छ। यदि उनीहरूलाई तत्काल रिहा नगरिए र आनी छोइङको विवादित नियुक्ति नसच्याइए लुम्बिनी क्षेत्रमा थप सशक्त र चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनीसमेत महाअभियानले दिएको छ।
प्रतिक्रिया