×

साफ वुमन्स च्याम्पियनसिप- नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव, अझै सुरुहुन सकेन खेल

images

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए ।

तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ । सब्सिच्युट खेलाडी संगिताले गोल गरेकी थिइन्। त्यसपछि भारतले लामो समयसम्म सेलिब्रेसन गरेको थियो। रेफ्रीले खेलका लागि आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो।

जसमा भारतीय खेलाडी तयार हुँदै नेपालकी प्रिति राईले बललाई जाली चुमाएकी थिइन्। जसका कारण भारतले चर्को विरोध गरेको थियो। रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।

नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् । यससँगै खेल फेरि रोकिएको छ। यो खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ। रंगशाला पूरा भरिएको छ। १४ हजार दर्शक क्षमताको रंगशालाका सबै टिकट बिक्री भइसकेको जनाइएको छ।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।

आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ। 

आइतबार​ ११ कात्तिक २०८१ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया