चामे (मनाङ) — हिमाली जिल्ला मनाङको सदरमुकाम चामे नजिकै घट्टेखोलाबाट आएको लेदोसहितको भीषण बाढी र पहिरोका कारण मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ। लगातारको अविरल वर्षाका कारण माथिल्लो डाँडा भासिएर झरेको लेदो, ढुङ्गा र माटो मर्स्याङ्दी नदीको बहाव क्षेत्रमा थुप्रिएपछि नदीको गति रोकिएको हो। दुवै खोला मिसिएर चामे क्षेत्रमा विशाल ताल बन्न थालेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा आपत्कालीन साइरन बजाएर उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार घट्टेखोला र मर्स्याङ्दी नदी मिसिएर बनेको तालका कारण चामे गाउँपालिकाको पारिपट्टिको बस्ती पूर्ण रूपमा जोखिममा परेको छ।
बाढी र पहिरोका कारण माथिल्लो मनाङ जाने एक मात्र मुख्य पक्की पुल समेत उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराले जानकारी दिएका छन्। यसअघि नै कोटो र तिल्चे जोड्ने काठे पुलहरू बाढीले बगाइसकेका छन्। शनिबार रातिदेखि नै बस्तीमा बाढी र लेदो पस्न थालेपछि कतिपय स्थानीय बासिन्दाहरू ज्यान जोगाउन मध्यरातमै नजिकैको जङ्गलतर्फ भागेका थिए। विस्थापित भएका बालबालिका, वृद्धवृद्धा र स्थानीयलाई हाल नापी, जनस्वास्थ्य, जिल्ला अस्पताल र प्रहरी ब्यारेक जस्ता सरकारी भवनहरूमा सुरक्षित रूपमा राखिएको छ।
लमजुङ र तल्लो तटीय क्षेत्रमा 'रेड अलर्ट' र साइरन
मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएर ताल बनेको र जुनसुकै बेला फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मनाङ मात्र नभई तल्लो तटीय क्षेत्रमा पर्ने लमजुङ र तनहुँ जिल्लाका नदी किनारका बस्तीहरूमा समेत साइरन बजाएर अलर्ट गराइएको छ। पहाडी भू-भागमा लेदो बग्ने क्रम नरोकिएकाले नदी जुनसुकै बेला थप थुनिन सक्ने वा अचानक फुट्दा तल्लो क्षेत्रमा ठूलो बाढी (Flash Flood) आउन सक्ने प्राविधिकहरूको विश्लेषण छ।
खाद्यान्न अभाव र पर्यटक अलपत्र
सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि र बजार क्षेत्र डुबानमा परेपछि चामेमा सुरक्षित स्थानमा ओत लागेर बसेका नागरिकहरूका लागि ओढ्ने-ओछ्याउने र खाद्यान्नको गम्भीर अभाव हुन थालेको स्थानीय व्यवसायीहरूले बताएका छन्।
अन्नपूर्ण पदमार्ग (Annapurna Circuit Trek) का लागि मनाङ पुगेका दर्जनौँ विदेशी तथा आन्तरिक पर्यटकहरू चामे र आसपासका क्षेत्रमा अलपत्र परेका छन्। सबै सडक र पुलहरू क्षतिग्रस्त भएका कारण स्थलगत मार्गबाट उद्धार असम्भव भएपछि स्थानीय प्रशासन र बासिन्दाले सरकारसँग तत्काल हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री उपलब्ध गराउन माग गरेका छन्।
सुरक्षा निकाय हाई अलर्टमा
मौसममा केही सुधार देखिए पनि माथिल्लो क्षेत्रबाट ढुङ्गा र माटो खस्ने क्रम रोकिएको छैन। नदीको अवस्था र जलसतहलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निरन्तर निगरानी (Monitioring) गरिरहेको छ। गृह मन्त्रालयले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र माथिल्लो हिमाली भेगमा ट्रेकिङ वा आरोहणमा रहेका सबैलाई सुरक्षित स्थानमै रहन कडा निर्देशन जारी गरेको छ।
प्रतिक्रिया