×

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा दुवै लिन राष्ट्र बैंकको रोक

images

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो ।

उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ । ‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

खराब वित्तीय सूचकका बाबजुत पछिल्लो समय सेयर बजारमा यो कम्पनीमा कारोबारी हाबी देखिएका छन् । जसले गर्दा सेयर मूल्य हालसम्मकै उच्च प्रतिकित्ता ८४० रुपैयाँ छ । सोमबार मात्रै ५.६६ प्रतिशत मूल्य बढेको छ । यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ । राष्ट्र बैंकले समस्याउन्मुख देखिएको भन्दै बैंकलाई कर्जा दिन र निक्षेप लिन समेत रोक लगाएको हो। 

मङ्गलबार ११ मंसिर २०८१ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया