काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो ।
१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रन बनाउँदै ९ विकेट गुमायो । सातौं ओभरको चौथो बलमा कप्तान इन्दु बर्मा चोटग्रस्त भएपछि बीचमै मैदान छाडेकी थिइन् । उनी पछि मैदानमा फर्कन सकिनन् । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेको थिएन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पु¥याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन ग¥यो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।
नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए । नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । एक जित मात्र निकालेको नेपाल २ अंकमा सीमित भयो ।
प्रतिक्रिया