काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध्यक्ष ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका हुन्।
ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताए। राष्ट्रपतिले गरेको छलफलका क्रममा सरकारलाई सुरक्षाका बारेमा जानकारी गराउँदा पनि अवस्थामा भने खासै परिवर्तनको महशुस हुन नसकेको उनको भनाइ छ।
उनले अहिले पनि जेनजीका नाममा त्रास सिर्जना गर्ने काम भइरहेको बताए। अध्यक्ष ओलीले जेनजीका नाममा अरुले नै फाइदा उठाउन खोजेकाले देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्नेमा जोड दिए।
उनले जेनजी आन्दोलनमा सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत रहेको जनाए। उनले देशको राष्ट्रिय स्वाभिमानमाथि कसैले प्रश्न उठाए सह्य नहुने समेत बताए। ओलीले देशको बिकासका योगदान दिन युवाहरुलाई आह्वान समेत गरे।
उनले भने, ‘आज देशको एउटा के समस्या हो भने युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढङगले आफुलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । त्यो समस्यालाई हाम्रो पङ्क्तिले आदर्शको रुपमा देखायो, देशका चर्चित भनेका मान्छेहरु नशामा भेटिन्छन् । चर्चामा बेस्सरी ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छ ।’
तर, एमाले महाधिवेशनमा खटिएका युवाहरूले अनुशासन, मर्यादा र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको उनले बताए । ‘हाम्रा युवाहरूमा कुनै पनि प्रकारको दुव्र्यसन देखिएन, यो हाम्रो पङ्क्तिले देखाएको आदर्श हो ।’ ओलीले भने ।
उनले आफ्नो भनाइ मन नपरेर इख मान्दै दुव्र्यसनमा लागेकाहरूले यदि त्यस्तो व्यवहार त्यागेमा आफूलाई अत्यन्त खुसी लाग्ने बताए । युवाहरूको सकारात्मक आचरण र अनुशासनले नै देशको भविष्य सुरक्षित हुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपाल बहुलतामा आधारित समाज भएको उल्लेख गर्दै बहुलता र विविधता देशको सामाजिक मात्र नभई भौगोलिक, प्राकृतिक र जैविक यथार्थसमेत भएको बताए । ‘हामी बहुलतामा छौं, बहुलता र विविधता हाम्रो भौगोलिक यथार्थ हो, प्राकृतिक यथार्थ हो र जैविक वनस्पतिको पनि यथार्थ हो ।’ उनले भने ।
उनका अनुसार यही विविधताले नेपाललाई विश्वले ‘इकोसिस्टम’को सबैभन्दा सुन्दर नमुनामध्ये एकका रूपमा चिन्ने आधार दिएको छ । यो केवल सामाजिक पक्षमा मात्र सीमित नभई विभिन्न प्रकारका इकोसिस्टम, सुप्रबन्ध, सुव्यवस्था र विविधताभित्रको एकता नेपालको विशेषता भएको उनले बताए ।
अध्यक्ष ओलीले विविधतामा आधारित यही एकतालाई खलबलाउने प्रयास भए त्यसले देशलाई नकारात्मक असर पार्ने चेतावनीसमेत दिए ।
प्रतिक्रिया