×

सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घट्यो

images

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो। त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो। यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ। औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ।

सोमबार १० मंसिर २०८१ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया