काठमाडौँ। नेपालमा हाल मनसुनी वायुको पूर्ण प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको नजिक अवस्थित रहेकाले देशैभर मौसममा आंशिकदेखि सामान्य बदली सँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा अत्यधिक भारी वर्षाको (Heavy Rainfall) समेत सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। लगातारको वर्षाका कारण ती प्रदेशका नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्ने, पहिरो जान सक्ने र पहाडी भू-भागमा गेग्रान बहावको जोखिम रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। दैनिक जनजीवन, यातायात, कृषि तथा स्वास्थ्य क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन अपिल गरिएको छ।
प्रतिक्रिया