×

गठबन्धनको सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने- माधवकुमार नेपाल

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज (सोमबार) राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको हो भने । पार्टी र नेतामा देखापरेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरुले विद्रोह गरेको उनले बताए । गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको तथ्य उनले पेश गरे ।

न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन आग्रह उनले गरे । नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखे ।

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले भने,“हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनःजाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उनले पार्टी र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

सोमबार ७ कात्तिक २०७९ ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया