×

देशभर ज्यानसम्बन्धी कसुर र बलात्कारका साढे ९ हजार बढि घटना प्रहरीमा दर्ता

images

 गत वर्ष साउनदेखि जेठसम्मको अवधिमा देशभर ज्यानसम्बन्धी कसुरका ७ हजार ४०३, बलात्कारका २ हजार १३८ घटना प्रहरीमा दर्ता भएको छ । सो अवधिमा देशभर कर्तव्य ज्यानको ५४८, ज्यान मार्ने उद्योगका ९६२ घटना भएको प्रहरीले जनाएको छ ।

२०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र काठमाडौँ उपत्यकामा गरी कर्तव्य ज्यानसम्बन्धी ५४८ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यानका घटना प्रदेश १ मा सबैभन्दा धेरै भएको पाइएको छ ।

गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका छन् । यस्तै, मधेस प्रदेशमा १०४, लुम्बिनीमा ९८ र काठमाडौँ उपत्यकामा ४२ जनाको हत्या भएको छ ।

यसै गरी बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ । हत्यामा संलग्न आरोपितमध्ये अधिकांश कानुनी दायरामा आएका छन् ।

थोरै सङ्ख्यामा फरार आरोपितको खोजी हुनुका साथै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताउनु भयो । सो अवधिमा ९६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् ।

भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् ।

आइतबार​ ८ साउन २०७९ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया