×

मधेस प्रदेशमा राजनीतिक भूकम्प: सम्झौता तोडिएको भन्दै सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्री अल्पमतमा!

images

जनकपुरधाम, असोज ३०। नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) औपचारिक रूपमा बाहिरिएको छ । सरकार गठनका समयमा सडक र सदनमा गरिएका पूर्वसहमति तथा १५ बुँदे सम्झौता मुख्यमन्त्रीले कार्यान्वयन नगरेको आरोप लगाउँदै एमालेले मधेस सरकार बाट बाहिरिने निर्णय गरेको हो।

शुक्रबार एमाले संसदीय दलका नेता सरोज यादव र प्रमुख सचेतक हरिनारायण महतोले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र बुझाएका हुन् ।

चार मन्त्रीद्वारा मुख्यमन्त्रीसमक्ष राजीनामा

समर्थन फिर्ताको घोषणा गरेलगत्तै एमालेका तर्फबाट मधेस प्रदेश सरकारमा सहभागी भएका चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । राजीनामा दिने मन्त्रीहरूमा:

  • मोहम्मद समिर – भौतिक पूर्वाधार विकास मन्त्री 
  • शारदादेवी थापा – श्रम तथा यातायात मन्त्री 
  • लखनदास तत्मा – खेलकुद तथा समाज कल्याण मन्त्री 
  • मनोजकुमार सिंह – शिक्षा तथा संस्कृति मन्त्री 

सरकार अल्पमतमा, नयाँ समीकरणको कसरत

मधेस प्रदेश सरकार गठन हुँदा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालयको संख्या १२ बाट घटाएर ९ मा झार्ने र वित्तीय सुशासन कायम गर्ने १५ बुँदे सम्झौता भएको थियो । तर मुख्यमन्त्री यादवले सहमति उल्लंघन गर्दै बजेट विनियोजनमा एकलौटी गरेको एमालेको आरोप छ ।

प्रमुख दल एमालेले ७४ सदस्यीय प्रदेश सभामा आफ्नो समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमालेले मधेस प्रदेशमा नयाँ वैकल्पिक सरकार गठनका लागि अन्य दलहरूसँग संवाद र कसरत समेत अगाडि बढाइसकेको प्रमुख सचेतक महतोले जानकारी दिएका छन्।

शुक्रबार​ ३० असोज २०८३ ०६:१९ PM मा प्रकाशित

प्रतिक्रिया