काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाको आज शनिबार शपथग्रहण तथा पदबहाली हुँदैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा दिउँसो २ बजे विशेष कार्यक्रमका बीच सभापति थापाको शपथग्रहण र पदबहालीको समय तय गरिएको हो।
महाधिवेशन अन्तर्गत सभापति बाहेकका अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतपरिणाम हिजो शुक्रबार मात्रै सकिएको थियो। दसैँको फूलपाती सुरु भइसकेकाले र कतिपय नेता–कार्यकर्ताहरू उपत्यकाबाहिर आफ्नो गृहजिल्ला प्रस्थान गरिसकेका कारण केन्द्रीय समितिका अन्य पदाधिकारी र सदस्यहरूको शपथ भने दसैँपछि मात्रै हुने पार्टीको निर्वाचन समितिले जनाएको छ।
पार्टी नेतृत्वलाई तत्काल सुचारु गर्न आवश्यक देखिएकाले नवनिर्वाचित सभापति थापाको मात्र शपथ फूलपातीकै दिन (आज) गराउन लागिएको हो। १५औँ महाधिवेशनमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा गगनकुमार थापाले आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका थिए। अन्तिम मत परिणाम अनुसार कुल खसेको मतमध्ये थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले जम्मा ३७५ मत मात्र पाएका थिए।
निर्वाचन समितिका अनुसार दसैँ सकिएलगत्तै बाँकी सबै निर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण तथा शपथग्रहण सम्पन्न गरिनेछ, जसका लगत्तै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो औपचारिक बैठक बस्ने तयारी छ।
प्रतिक्रिया