×

खगेन्द्र सुनार स्क्यान्डल: रास्वपा छानबिन समितिले जनआस्थाबाट बुझ्यो सक्कल अडिओ र ८० पानाको बैंक रेकर्ड

images

काठमाडौँ, असोज ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनार जोडिएको स्क्यान्डलको छानबिन तीव्र पारेको छ । अनुसन्धानकै क्रममा रास्वपाको केन्द्रीय अनुशासन आयोगको टोली आज शुक्रबार जनआस्था साप्ताहिक को कार्यालय पुगेर विवादित अडिओको सक्कल प्रति र कागजातहरू लिएर फर्किएको छ ।

छानबिन समितिका संयोजक हरिचन्द्र भट्टराईको लिखित मागपछि ‘विप र म्युट’ नगरिएको (सक्कल) अडिओ र अन्य महत्वपूर्ण वित्तीय विवरणहरू पेन ड्राइभमा हालेर रास्वपा टोलीलाई उपलब्ध गराइएको जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले पुष्टि गरेका छन्।

८० पेज लामो बैंक स्टेटमेन्ट र ८ वटा खाता

अडिओका अतिरिक्त जनआस्थाले सुनारको ८० पेज लामो बैंक स्टेटमेन्ट समेत रास्वपा टोलीलाई हस्तान्तरण गरेको छ । प्रधानसम्पादक श्रेष्ठका अनुसार सांसद सुनारका ८ वटा फरक–फरक बैंकमा खाताहरू भेटिएका छन् र ती खाताहरूमा भएका आर्थिक कारोबारहरू निकै शंकास्पद देखिएका छन्।

सञ्चारमाध्यमसँगको छलफलका क्रममा रास्वपाका पदाधिकारीहरूले अडिओमा सुनिएको आवाज खगेन्द्र सुनारकै हो भन्ने कुरामा आफूहरू व्यक्तिगतरूपमा आश्वस्त रहेको तर कानुनी कारबाही अघि बढाउन प्रक्रियागत छानबिन आवश्यक रहेको बताएका थिए ।
 

सरकारले पनि अनुसन्धान गर्ने

यसैबीच, सरकारले पनि सांसद सुनारसँग जोडिएको यो गम्भीर घटनामाथि कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउने स्पष्ट पारेको छ। शुक्रबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आवश्यक तथ्य र प्रमाणका आधारमा घटनाको विधिसम्मत अनुसन्धान हुने र सरकारले कुनै पनि घटनालाई दबाउने नियत नराखेको स्पष्ट पारेका छन् ।

सांसद सुनारले भने एक महिलालाई अश्लील गालीगलौज र ब्ल्याकमेलिङ गरेको भनिएको उक्त अडिओ आर्टिफिसियल इन्टेलिजेन्स (AI) वा क्यारिकेचर गरेर नक्कली बनाइएको दाबी गर्दै आएका छन्। रास्वपाले भने उनलाई अनुसन्धान नसकिएसम्म पार्टी र सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाइसकेको छ ।

शुक्रबार​ ३० असोज २०८३ ०६:३५ PM मा प्रकाशित

प्रतिक्रिया