काठमाडौँ, कात्तिक १ । काभ्रेपलाञ्चोकको बनेपामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार (आज) बिहान करिब ५:३० बजे बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा यो दुःखद दुर्घटना भएको हो। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको HR38AL1634 नम्बरको भारतीय ग्यास बुलेटले सोही दिशामा गइरहेको बा प्र ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
अस्पताल पुर्याउनासाथ बालक मृत घोषित
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ का एकै परिवारका तीन जना गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ बिहान करिब ६ बजे चिकित्सकले ९ वर्षीय बालक जुवास बुढाथोकीलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका बालकका बुबा २९ वर्षीय चन्द्र बुढाथोकी र आमा २७ वर्षीया रेणुका राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
चालक र सवारीसाधन नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बनेपाले दुर्घटनामा संलग्न ग्यास बुलेट र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ग्यास बुलेटका चालक भारत निवासी ३७ वर्षीय शिवजी रामलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया