×

फूलपातीकै दिन गगन थापाले सम्हाल्दै कांग्रेसको कमान: भोलि दिउँसो २ बजे सानेपामा शपथग्रहण

images

काठमाडौँ, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण कार्यक्रम भोलि शनिबार (असोज ३१ गते फूलपातीका दिन) हुने तय भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा दिउँसो २ बजे शपथग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना पहिले नै सकिएको भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना शुक्रबार दिउँसो मात्रै सम्पन्न भएको हो । निर्वाचन समितिले यसअघि सबै पदको शपथ दसैँपछि मात्रै गराउने तयारी गरेको थियो । तर, पार्टी नेतृत्व सुचारु गर्न आवश्यक देखिएकाले नवनिर्वाचित सभापति थापाको मात्र शपथ फूलपातीकै दिन गर्न लागिएको हो । 

अन्य पदाधिकारी र सदस्यहरूको शपथ दसैँपछि

सभापति बाहेकका अन्य नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण भने दसैँपछि मात्र हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् । दसैँ मनाउनका लागि कतिपय नेता तथा कार्यकर्ताहरू उपत्यकाबाहिर आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरिसकेकाले बाँकी पदाधिकारीहरूको शपथ रोकिएको हो । 

दसैँ सकिएलगत्तै अन्य सबै निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ र प्रमाणपत्र वितरण सम्पन्न गरिनेछ, जसका लगत्तै नेपाली कांग्रेस को नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक समेत बस्ने तयारी छ । 

भारी मतान्तरले विजयी भएका थिए थापा

१५औँ महाधिवेशनमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा गगनकुमार थापाले आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका थिए । अन्तिम मत परिणाम अनुसार कुल खसेको मतमध्ये थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले जम्मा ३७५ मत मात्र पाएका थिए । 

यसपटकको महाधिवेशनमा कूल २२९ पदका लागि ७७ प्रकारका मतपत्रमार्फत ७ हजार ३९२ मतदाताले भाग लिएका थिए । झन्डै १ लाख ६२ हजार मतपत्रको गणना २४सै घण्टा २५ वटा समूह बनाएर अघिल्लो महाधिवेशनभन्दा दोब्बर छिटो र सौहार्दपूर्ण रूपमा सम्पन्न गरिएको निर्वाचन समितिले स्पष्ट पारेको छ । 


शुक्रबार​ ३० असोज २०८३ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया