×

बडादसैँको विशेष दिन: आज घर–घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै

images

काठमाडौँ, असोज ३१ । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँको सातौँ दिन आज शनिबार घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना समेत गरिँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक सुरु गरिएको दुर्गा पूजाअन्तर्गत आजको दिनको विशेष सांस्कृतिक र धार्मिक महत्त्व रहेको छ। फूलपाती अपराह्नकालमा भित्र्याउने वैदिक परम्परा छ, जसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कुनै विशेष साइतको आवश्यकता पर्दैन।


के हो फूलपाती र कसरी भित्र्याइन्छ?

दसैँ घर वा पूजा कोठामा नौ प्रकारका बोटबिरुवा र फलफूलका पालुवाहरूलाई फूलपातीका रूपमा भित्र्याउने चलन छ। यसमा नौ वटा विशिष्ट वनस्पतिहरू समावेश हुन्छन्:

  • उखु, हलेदो, केराको बोट 
    अशोक, बेल, दारिम 
    धानको बाला, जयन्ती र मानबोट 

यी नौ प्रकारका पालुवाहरूलाई नवपत्रिका पनि भनिन्छ, जसलाई नवदुर्गाका नौवटा स्वरूपको प्रतीक मानेर पूजा गरिन्छ। परम्पराअनुसार धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती काठमाडौँको जमल आइपुगेपछि निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुका पल्टन, ब्यान्डबाजा र सांस्कृतिक झाँकीसहित हर्षोल्लासका साथ हनुमानढोका दसैँघरमा भित्र्याउने विशेष कार्यक्रम रहन्छ ।

महाशक्तिशाली कालरात्रि देवीको महिमा

आज पूजा गरिने नवदुर्गाकी सातौँ रूप कालरात्रिको स्वरूप कृष्ण वर्ण (कालो) र भयङ्कर आकृतिको रहेको पुराणहरूमा उल्लेख छ। संहारकारी स्वरूप भए तापनि आफ्ना भक्तहरूलाई सधैँ शुभ फल प्रदान गर्ने भएकाले यिनलाई 'शुभङ्कारी' पनि भनिन्छ।

प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत नष्ट गरिदिने अद्भूत शक्ति भएकी कालरात्रि देवीको आराधना गर्नाले शत्रु नाश हुने, भय तथा संकटबाट मुक्ति मिल्ने र सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। आजको दिन देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि पूजाअर्चना गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ।

शनिबार १ कात्तिक २०८३ ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया