×

मनोहराको अवैध घरटहरा भत्काइँदै

images

काठमाडौं । काठमाडौं र भक्तपुर जिल्लाको साँध–सिमानामा रहेको अतिक्रमति सार्वजनिक जग्गामा निर्माण गरिएको अवैध घर, टहरा भत्काउने कार्यले बुधबारपनि निरन्तरता पाएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना मंगलबारदेखि डोजर लगाएर हटाउन सुरु गरेको हो ।

आयोजनाका उपनिर्देशक निर्मलराज बरालले सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको जानकारी दिँदै भने, “आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्‍याङ, पर्खाललगायतका संरचना हटाउन सात दिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काइने छ ।”

यसअघि अतिक्रमित घरटहरा, छाप्रा, भर्‍याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताए ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका –१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको थियो ।

यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौंतर्फका सबै अतिक्रमित संरचना भत्काइको छ। मनोहरास्थित टहरामा बस्दै आएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको हो । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइएको बरालको भनाइ छ ।

बुधबार १० जेठ २०८० १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया