काठमाडौँ, २५ असोज २०८३ -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट आफूविरुद्ध चौतर्फी र शृङ्खलाबद्ध राजनीतिक हमला भइरहेको दाबी गरेका छन् । पार्टीको केन्द्रीय नीतिअनुसार आयोजित ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै निकट ठानिएका व्यक्तिहरूबाट धोका पाएको गम्भीर खुलासा गरेका हुन्।
आफ्ना सहयात्री र निकटस्थ कमरेडहरूबाटै राजनीतिक घात भएको भन्दै उनले आक्रोशपूर्ण शैलीमा भने, “यसो हेर्यो आफ्नै साथी जस्तो लाग्छ। कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ। यो पनि देखियो। कता जोगिने, कता नजोगिने ?”
कमरेड' को आवरणमा घात
अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनभित्र झाँगिँदै गएको अवसरवाद र आन्तरिक गुटबन्दीमाथि प्रहार गर्दै पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई कडा शब्दमा सचेत गराए । उनले बाहिरी शत्रु वा विरोधी शक्तिभन्दा पनि सँगै उठबस गर्ने र 'कमरेड' को आवरणमा रहेका व्यक्तिहरूबाट बढी खतरा र घात भएको भन्दै आफ्ना कार्यकर्ताहरूलाई सचेत रहन निर्देशन दिए । राजनीतिक स्वार्थका लागि आफ्नै नेतृत्वलाई कमजोर बनाउने खेल भइरहेको तर्फ उनको सङ्केत थियो ।
भीष्म पितामहको प्रसंग र दृढता
आफूमाथि जतिसुकै कोणबाट प्रहार भए पनि आफू कमजोर नभएको र नलड्ने ओलीले स्पष्ट पारे । महाभारतको पात्र भीष्म पितामहको प्रसंग उल्लेख गर्दै उनले भने, “भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ। जति हाने पनि ढल्दिनँ।”
आफ्नो ५७ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै ओलीले यो अभियान कसैको व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको समृद्धिका लागि भएको जिकिर गरे। विगतमा आफूले जेल जीवन बिताएको, विभिन्न झूटा मुद्दा र राजनीतिक घेराबन्दी झेलेको उल्लेख गर्दै उनले वर्तमान संकटलाई पनि सहजै परास्त गर्ने दृढता व्यक्त गरे ।
'वैरीसामु झुकिँदैन, इच्छा मरण चाहिँदैन'
सम्बोधनका क्रममा ओलीले आफूमा अझै पनि कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने ऊर्जा र दृढ संकल्प रहेको बताए। “म चाहिँ मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन। बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन। लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेकै होइन,” उनले भने ।
अध्यक्ष ओलीको यो कडा र भावुक अभिव्यक्तिका कारण एमालेभित्र आन्तरिक शक्ति सन्तुलन र इतर समूहबीचको दूरी अझ बढ्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ। सानेपा र च्यासलबिच राजनीतिक सरगर्मी बढिरहेका बेला ओलीको यो ‘छुरा काण्ड’ सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।
प्रतिक्रिया