नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने क्रममा दुवै नेताबीच भेट भएको हो। लगत्तै बालेन र मोदीबीच औपचारिक भेटवार्ता सुरु हुँदैछ, जसले दुई देशबीच हुने सहमतिलाई कार्यान्वयनको बाटोमा लैजानेछ।
वार्तापछि सार्वजनिक हुने अन्तिम परिणाम (फाइनल आउटकम) अर्थात् भारतबाट नेपालले प्राप्त गर्ने विषयहरूको विवरण सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार ‘मेजर आउटकम’ का रूपमा भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउनेछ, यद्यपि प्याकेजको रकम भने खुलाइएको छैन।
मेजर आउटकमकै रूपमा नेपालले गुजरातको कान्दला र ओडिसाको पारादीप बन्दरगाह पाउने भएको छ। नेपालले गुजरातको मुन्द्रा बन्दरगाहको माग राखे पनि भारतले सो बन्दरगाह उपलब्ध गराउन भने मानेन। त्यस्तै, मेजर आउटकमको अन्तिम बुँदामा अयोध्या–जनकपुर रेल सेवाबारे उल्लेख छ। आजै मोदी र बालेनले अयोध्यादेखि जनकपुरसम्म चल्ने रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ, जसलाई भारतले ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको छ।
प्राप्त विवरणअनुसार भारतले चितवनमा एग्रो इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ। साथै, काठमाडौँलाई रक्सौलसँग जोड्न रेल सेवा विस्तारका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार हुने भएको छ। त्यसैगरी, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण गरिदिने विषय पनि विवरणमा समेटिएको छ।
विवरणमा भारतले तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास गरिने उल्लेख छ। यसका साथै झापामा पेट्रोलियम टर्मिनल र एकीकृत चेकपोस्टका रूपमा बनबासा–दोधारा चाँदनीको शिलान्यास गरिने बताइएको छ।
त्यस्तै, मोतिहारी–अमलेखगन्ज पाइपलाइन, सिलिगुडी–झापा ग्यास लाइन, जयनगर–बर्दिबास तथा जोगबनी–विराटनगरबीच रेल सेवा, बर्दिबास–निजगढ र वीरगन्ज–निजगढ रेल लिंकमा सहकार्य तथा टेलिकम र बैंकिङ सुविधामा सहजीकरण गरिने जनाइएको छ। साथै, भारतीय प्राविधिक संस्थान (आईआईटी) का शाखा क्याम्पसहरू नेपालमा विस्तार गरिने विवरणमा उल्लेख छ।
प्रतिक्रिया