×

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ, अन्तरिम आदेशबारे छलफल

images

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि गत बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश दिएको थियो। रिटमा माग गरिएअनुसार अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको छ। साथै, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपि तथा सम्बन्धित कागजात र फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन पनि अदालतले भनेको थियो। विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई दृष्टिगत गर्दै शीघ्र निर्णय गर्नुपर्ने देखिएकाले रिटलाई अग्राधिकारसमेत दिइएको छ।

मन्त्रिपरिषद्ले कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। केसीले सोही दिन दज्र्यानी चिह्न लगाएर कार्यभार सम्हाल्नुभएको थियो। त्यसको दुई दिनपछि कात्तिक २० गते दर्ता गरिएको रिटमा सरकारका ती निर्णय बदर गरी आफूलाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरिएको छ।

कार्कीले दायर गर्नुभएको रिटमा आफूलाई पदबाट हटाउने निर्णय गर्दा कुनै पूर्वसूचना नदिएको, परामर्श तथा सहमति नलिएको र स्पष्टीकरणसमेत नसोधिएको दाबी गरिएको छ। निर्णयबारे सुरुमा सञ्चारमाध्यमबाट जानकारी पाएको र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमार्फत कात्तिक १८ गतेदेखि लागू हुने गरी ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पदमा खटाइएको जानकारी दिइएको रिटमा उल्लेख छ।

उक्त पत्रमा ‘प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने’ कार्यक्षेत्रगत सर्त तोकिएको तथा पारिश्रमिक र सेवाका सर्त नेपाल प्रहरीको महानिरीक्षकसरह हुने उल्लेख गरिएको छ। तर आफूलाई २०८२ कात्तिक २६ गते प्रहरी महानिरीक्षकमा बढुवा गर्दा पठाइएको पत्रमा ‘नेपाल प्रहरीको गरिमालाई उच्च बनाई राख्न’ अपेक्षा गरिएकोमा अहिलेको पत्रमा ‘नेपाल सरकारको गरिमालाई उच्च बनाई राख्न’ भनिएको कार्कीको जिकिर छ।

पत्रले आफूलाई नेपाल प्रहरीको कमान्ड र जिम्मेवारीबाट अलग गरी सल्लाहकारको भूमिकामा सीमित गरेको तथा पारिश्रमिक र सेवा–सुविधा महानिरीक्षकसरह हुने भनिएबाटै आफू आईजीपी नरहेको सरकार स्वयंले स्वीकार गरेको दाबी कार्कीले गर्नुभएको छ।

प्रहरी महानिरीक्षकबाट अलग गर्ने निर्णयमा कुनै ऐन, नियम वा कानुनी आधार उल्लेख नगरिएको तथा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै कमजोरी वा आरोपसमेत नलगाइएको रिटमा भनिएको छ। कार्कीले सरकारको निर्णय र त्यसका आधारमा भएका पत्राचार तथा कामकारबाही उत्प्रेषणको आदेशले बदर गरी आफ्नो पदावधिभर आईजीपीकै रूपमा काम गर्न दिन परमादेश जारी गर्न माग गर्नुभएको छ।

सोमबार ८ मंसिर २०८३ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया