काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइ म्याद तामेलीको प्रक्रिया स्पष्ट नहुँदा सरेको छ। विपक्षीमध्येका नवनियुक्त आईजीपी मनोज केसीका नाममा अदालतको म्याद तामेल भए–नभएको यकिन हुन नसकेपछि सर्वोच्च अदालतको इजलासले सुनुवाइ स्थगित गरेको हो।
बहसका क्रममा प्रहरी प्रधान कार्यालयको तर्फबाट उपस्थित कानुन व्यवसायीले आईजीपी केसीले म्याद बुझिनसकेको जानकारी इजलासलाई गराउनुभएको थियो। म्याद तामेलीको विषय उठेपछि इजलासले महान्यायाधिवक्तालाई समेत बोलाएर आगामी पेसीअघि नै म्याद तामेलीको सुनिश्चितता गर्ने गरी आदेश जारी गर्ने तयारी गरेको छ।
यसका साथै, इजलासले सरकारका विवादित निर्णयका सक्कल फाइल झिकाउनसमेत महान्यायाधिवक्तालाई निर्देशन दिएको छ। आगामी पेसीमा मनोज केसीलाई आईजीपी नियुक्त गर्ने तथा कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने प्रधानमन्त्री कार्यालयको निर्णयसम्बन्धी फाइल अनिवार्य रूपमा पेस गर्ने व्यवस्था मिलाउन भनिएको छ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई पदमुक्त गर्दै केसीलाई प्रहरी नेतृत्व सुम्पिएको थियो। उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले गत बुधबार सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई अदालत बोलाएको थियो।
प्रतिक्रिया