×

जोखिम बढाउँदै ‘रिसाइकल’ सिम

images

काठमाडौं । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उहाँ अहिले तनावमा हुनुहुन्छ । 

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उहाँको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ। बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ ।

काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफैंले पहुँच पाउनुभएन। एक वर्षसम्म रिचार्ज नगरेपछि उक्त नम्बर अरूलाई नै बिक्री भएको उहाँले त्यतिबेला थाहा पाउनुभयो। आफ्नो पहिलेको फेसबुक प्रयोग गर्न वन टाइम पासवर्ड (ओटीपी) का लागि गरेको प्रयास असफल भएपछि मात्र उहाँले यो थाहा पाउनुभयो । 

काठमाडौँकै अतुलराज पाण्डेले एनसेलको सिम प्रयोग गरेर खोलेको ईसेवा एकाउन्टमा पनि उहाँको पहुँच छैन । आफ्नो सिमकार्ड अरूले नै प्रयोग गरेको थाहा पाएपछि तत्कालै उहाँले बैङ्कमा सम्पर्क गरेर उक्त नम्बरसँग खातालिङ्क नगरिदिन आग्रह गर्नुभयो तर ईसेवामा आफूले राखेका व्यक्तिगत विवरणमा अहिले पनि अरू कसैले पहुँच पु¥याउँछ कि भन्ने डर उहाँलाई अझै छ। 

एक वर्षसम्म निष्क्रिय सिमकार्ड रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा निम्तिएका जोखिमका उदाहरण हुन् यी। दूरसञ्चार सेवा प्रदायकहरूले सिमकार्ड रिसाइकल गरेर बिक्री गर्दा अहिले हजारौँ प्रयोगकर्ता त्यसको जोखिममा छन् । त्यतिमात्र हैन रिसाइकल गरेर प्रयोगमा ल्याइएका सिमकार्ड खरिद गर्नेले पनि उत्तिकै हैरानी खेप्नु परेको छ । पहिलेकै व्यक्तिका नाममा बैङ्कले पठाउने जन्मदिनको शुभकामनासहितका एसएमएस, आफन्तका फोन र विभिन्न किसिमका सन्देशले नयाँ प्रयोगकर्ताले पनि अनावश्यक झन्झट बेहोर्नु परेको छ। 

व्यक्तिगत गोपनीयतासँग सम्बन्धित अति संवेदनशील सूचनासँग सजिलै पहुँच पु(याइदिने माध्यम बनेको छ, नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नीति। छ महिनासम्म प्रयोगमा नआएका सिमकार्ड निष्क्रिय बनाउन सकिने र त्यसलाई एक वर्षपछि सेवाप्रदायकले ‘रिसाइकल’ गरेर बिक्री गर्न पाउने प्राधिकरणको नीतिको नकारात्मक असर यतिबेला प्रयोगकर्ताले बेहोरिरहनु परेको छ। विश्वास रेग्मी/ गोरखापत्र दैनिक

मङ्गलबार ७ भदौ २०७९ ०७:३० AM मा प्रकाशित

प्रतिक्रिया