काठमाडौँ । बीमा र धितोपत्रसम्बन्धी कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका रिमाललाई काठमाडौँ महानगरपालिका-७, सिफलबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोग लागेपछि रिमाल फरार रहँदै आएका थिए।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र-जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी व्यवसायी दीपक भट्टसहितका व्यक्तिहरू जोडिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्दा रिमाललाई फरार कायम गरिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका काठमाडौँ महानगरपालिका-७ निवासी रिमाललाई थप कानुनी कारबाही तथा प्रक्रियाका लागि काठमाडौँ जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
प्रतिक्रिया