काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन नौ दिन लागेको छ ।
मनसुन नेपाल प्रवेश गरेको पहिलो दिनमै कोशीसँगै बाग्मती र मधेस प्रदेशको पूर्वी भूभागमा फैलिएको थियो । विभागले निकालेको विशेष बुलेटिनमा देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आउँदाे तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।
मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा र केही ठाउँमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, भूक्षय लगायतका समस्या आउन सक्ने भन्दै विभागले खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया