झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सोमबार आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन् । आसन्न निर्वाचनका लागि सार्वजनिक गरिएको उक्त वाचापत्रमा भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य र सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिइएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई रास्वपामा आबद्ध भई चुनावी मैदानमा उत्रिनुभएका शाहले आफ्नो मुख्य संकल्प बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने रहेको बताएका छन् । उनले राजनीतिलाई पेसा नभई सेवाको रूपमा स्थापित गर्ने र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा क्षेत्रमा सुधारका लागि उनले स्कुल रिटेन्सन प्रोग्राम मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने र सामुदायिक विद्यालयहरूलाई प्रविधिसँग जोड्दै स्मार्ट क्लास स्थापना गर्ने योजना अघि सारेका छन् ।
स्वास्थ्यतर्फ विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति र घर–घर स्वास्थ्य सेवा मार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने शाहको वाचापत्रमा उल्लेख छ ।
झापा–५ को कृषि क्षेत्रलाई आधुनिक बनाउन कन्काई–रतुवा सिँचाइ योजना विस्तार र एक पालिका, एक शीत भण्डारको अवधारणा ल्याइएको छ। पूर्वाधार विकासतर्फ दमक–रवि–चिसापानी सडकको पूर्णता, हुलाकी सडक निर्माण र दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
दशकौँदेखि थाती रहेको सुकुम्वासी र भूमिहीन समस्या समाधानका लागि ठोस कानुन निर्माण गर्ने वाचा गर्दै शाहले भनेका छन्, जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ, मलाई काम गर्न दिनुहोला ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा बालेनको उम्मेदवारी र वाचापत्रले चुनावी प्रतिस्पर्धालाई निकै रोचक र त्रिपक्षीय बनाएको छ ।


प्रतिक्रिया