काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले रेल,सुरुङमार्ग र पानीजहाजको अवधारणा अघि सार्नु गलत नभएको जिकिर गरेका छन्। एमालेले आज काठमाडौंमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति संकेत गर्दै महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षड्यन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन्।
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ दलहरूभित्र छलफल चलिरहेका बेला एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अनुदानमा मात्रै लिने कि ऋणमा समेत लिने गरी कार्यान्वयन सम्झौता गर्ने भन्न विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा फरक मत रहँदै आएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा नौ वटा प्रश्न गर्दै पोखरेलले गरेका कामहरू कसरी गलत भए? भनेर सोधेका छन्। एमालेले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो भन्दै उनले प्रश्न गरेका छन्।
यस्ता छन् पोख्रेलले राखेका प्रश्न
१.नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा (एमाले) ले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३.नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?
५. नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?
६.के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
७. के नेपालले भैरहवा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गÞलत हो ?
पोखरेलले एमालेले यस्ता काम गर्नु गलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् ।
‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ’, पोखरेलको आग्रह छ ।
प्रतिक्रिया