×

त्रिपुरेश्वर बस आगलागी घटना: अर्कैको कागजात प्रयोग गर्दै आएका चालक अर्जुन दोङको पहिचान खुल्यो

images

काठमाडौँ, असोज ६ — काठमाडौँको त्रिपुरेश्वरमा सोमबार मध्याह्न रिद्धिसिद्धी यातायातको (बा ५ ख ४२७४) बसमा भएको आगजनीमा परेर मृत्यु भएका चालकको वास्तविक पहिचान खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्। आगजनीबाट गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

यसअघि आगजनीमा परेका व्यक्ति दावा लामा भएको विवरण आएको थियो। घाइते अवस्थामा अर्जुन आफैँले पनि प्रहरीलाई आफ्नो नाम दावा लामा बताएका थिए। तर, पछि वास्तविक दावा लामा प्रहरीको सम्पर्कमा आएपछि अर्जुनले अर्काको कागजात दुरूपयोग गर्दै आएको रहस्य खुलेको हो।

नक्कली परिचय र विगतका कसुर प्रहरी अनुसन्धानका अनुसार अर्जुनले दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स), नागरिकता र बैंक खाता प्रयोग गर्दै आएका थिए। उनको आपराधिक/सवारी कसुरको पृष्ठभूमि समेत देखिएको छ:

  • बालाजु दुर्घटना: २०८२ कात्तिकमा बालाजुमा बस पल्टिएर तीन जना घाइते भएको घटनामा अर्जुन नै संलग्न थिए। त्यसबेला दुर्घटनापछि फरार भएका उनले 'सुनिल तामाङ'को नामको लाइसेन्स प्रयोग गरेका थिए।

  • मूलपानी घटना: करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गर्दा उनले दाबाकै लाइसेन्स देखाएका थिए।

आगजनीको कारण र घटनाको क्रम सोमबार मध्याह्न त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीले चिट काट्न खोजेपछि विवाद भएको थियो। विवादकै क्रममा आक्रोशित बनेका चालकले सुरुमा सडकमा बस तेर्साएका थिए। त्यसपछि बसलाई नजिकैको बसस्टपमा लगेर रोकेका थिए। यात्रुहरूलाई सकुशल ओरालेपछि उनले बसभित्रै आगो लगाएका थिए, जसमा परी उनी आफैँ गम्भीर घाइते भएका थिए।

छानबिन समिति गठन घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई छिटो भन्दा छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

मङ्गलबार ६ असोज २०८३ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया