नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्ताे बताउनुभएकाे हाे । नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई 'फास्ट ट्र्याक' बाट पारित गर्नु देशको हितमा नभएको बताउनुभयाे । नागरिकता विधेयक 'फास्ट ट्र्याक' बाट पारित गर्न खोज्नु देशको हितमा नभएको उहाँकाे भनाइ छ ।उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्ने गरी कार्यसूची बनाउनु जरुरी छ ।’
नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने सांसद सुवालकाे भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया