नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसका संस्थापक एवम् पूर्वसभापति विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई नेपालको संसद्ले सम्झिनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसद्को नेता भएकाले उहाँलाई संसद्ले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनुभयो ।
सांसद रिजालले कोइरालाले नेपाली नागरिकलाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘वीपी नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनुभएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । वीपी काेइरालालाई संसदले आज स्मरण गर्नुपर्छ ।’
सांसद रिजालले समकालीन नेताहरू सुवर्णशम्शेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूले समेत वीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको प्रसङ्ग उठाउनुभएको थियो ।
प्रतिक्रिया