चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको सङ्ख्या बढेर करिब ४ हजार ५ सयको हाराहारीमा पुग्ने भएको छ। पार्टी केन्द्रीय सचिवालयको प्रारम्भिक तथ्याङ्कअनुसार सुनिश्चित भइसकेका ४ हजार २११ जना र थप प्रक्रियाबाट आउने प्रतिनिधिहरू सहित कुल सङ्ख्या ४५ सय पुग्ने देखिएको हो।
पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार सातै प्रदेश, प्रवास सम्पर्क विभाग, समूहगत समायोजन तथा विधानबमोजिम सभापतिको मनोनयन प्रक्रिया पूरा गरी अन्तिम नामावलीको टुङ्गो लगाइँदै छ।
सङ्गठन विभागको प्रारम्भिक तथा सुनिश्चित विवरण अनुसार हालसम्म विभिन्न क्षेत्रबाट चयन भएका प्रतिनिधिहरूको सङ्ख्या यस प्रकार छ:
बागमती प्रदेश: ७९० जना (सबैभन्दा बढी)
मधेस प्रदेश: ६३० जना
सुदूरपश्चिम प्रदेश: ५५० जना
कोशी प्रदेश: ५२० जना
लुम्बिनी प्रदेश: ४९० जना
गण्डकी प्रदेश: ४७० जना
कर्णाली प्रदेश: ३६० जना
प्रवास सम्पर्क विभाग (३३ देश): १७० देखि २०० जनाको हाराहारीमा
सभापतिद्वारा मनोनयन: विधानतः २०० जना
यी बाहेक दोहोरो परेका नामहरूको दाबी-विरोध, छुटपुट सङ्ख्या र विभिन्न समूहबाट पार्टी प्रवेश गर्नेहरूको समायोजन पछि यो सङ्ख्या अधिकतम ४ हजार ५ सय सम्म पुग्ने सचिवालयले जनाएको छ।
रास्वपाले आफ्नो विधान र सङ्गठन संरचना अनुसार स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूलाई महाधिवेशन प्रतिनिधिको रूपमा समेटेको छ:
स्थानीय तहबाट: प्रत्येक गाउँपालिकाबाट १ जना, नगरपालिकाबाट २ जना, उपमहानगरपालिकाबाट ३ जना र महानगरपालिकाबाट ४ जना प्रतिनिधि छानिएका छन्।
पार्टी कमिटीका पदाधिकारी: पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित ५ जना र प्रदेश समितिका सबै सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्।
विभाग तथा आयोगहरू: केन्द्रमा रहेका ३८ वटा विभागका ११ जनाका दरले सदस्यहरू, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११-११ जना प्रतिनिधि रहने व्यवस्था छ।
विगतका उम्मेदवार: २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उपविजेता (प्रतिस्पर्धी) भएका र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय रहेका नेताहरू।
सांसदहरू: केन्द्रीय समितिमा नरहेका रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि बन्नेछन्।
प्रतिक्रिया