काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाहेको दिन हटाउने आफूहरुसँग तागत रहेको बताएका छन् । आज (शनिबार) कांग्रेस सल्यानको जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केही समयपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पनि बताए । ‘हामी संसद्को सबैभन्दा ठूलो पार्टी छौं अहिले । हामीले बनाएको प्रधानमन्त्री हुनुहुन्छ, हामीले चाहेको दिन प्रधानमन्त्रीबाट हटाउने तागत पनि राख्छौं । केही समयपछि हाम्रो नेतालाई प्रधानमन्त्री पनि बनाउँछौं हामी,’– उनले भने ।
महामन्त्री थापाले सरकारको कामको गति नपुगेको पनि टिप्पणी गरे । उनले अहिलेको परिस्थितिमा सरकारमा बसेकाहरुले महशुस गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई दिनदिनै सरकार ढल्दैन भनेर नभन्नसमेत आग्रह गरे । कांग्रेसले निर्णय नगरेसम्म वर्तमान सरकार नढल्ने उनको भनाइ छ । साथै, सुशासनको कुरा प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै नपुग्ने उनले बताए । भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा आम नागरिकहरुले घटना, पात्र र प्रवृत्तिहरुबाट महसुश गर्नुपर्ने उनको भनाइ छ ।
साथै, केही समयपछि कर्णालीमा कांग्रेसबाट जीवन शाही मुख्यमन्त्री बन्ने पनि महामन्त्री थापाले उद्घोष गरे । उनले भने,‘मुख्यमन्त्री हामीले बनाएका छौं, केही समयपछि कर्णालीका साथी जीवन शाहीलाई फेरि यहाँको मुख्यमन्त्री बनाउँछौं । हामी नेपालको सबैभन्दा ठूलो पार्टी हो । देशको अहिलेको अवस्थालाई चिर्ने काम नेपाली कांग्रेसको हो । हामी नेपालको सबैभन्दा जिम्मेवार शक्ति भएको हुनाले गर्दा हामी राष्ट्रिय पार्टी हो,’– उनले भने ।
प्रतिक्रिया