×

रेशम चौधरीको उम्मेदवारी खारेज

images

काठमाडौं। कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगले जनाएको छ।

उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो। देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ। यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको छ। 

व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए ।

२०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय माफी गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यलयले भनेको छ, 'राष्ट्रपतिबाट सजाय माफी भएको कारणले मात्रै अदालतको फैसला बदर नहुने भएकाले उम्मेदवारी खारेजीको निर्णय गरिएको छ ।' 

निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदको लागि हुने निर्वाचनमा प्रस्तुत मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।”

बिहीबार ९ माघ २०८२ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया