×

राजनीतिक तरंग: ‘म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ’ भन्दै देउवाले पठाए सन्देश

images

ईसञ्चारपाटी समाचारदाता
काठमाडौँ, ५ साउन

काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्कन लागेको घोषणा गर्नुभएको छ । बिपी स्मृति दिवसका अवसरमा विदेशबाट एक विशेष वक्तव्य जारी गर्दै उहाँले वर्तमान सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका समेत व्यक्त गर्नुभएको छ ।

उपचारका क्रममा लामो समयदेखि सिंगापुर र हङकङमा रहँदै आउनुभएका नेता देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई गम्भीरताका साथ नियालिरहेको बताउनुभयो ।

जारी वक्तव्यमा देउवाले वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि कार्यकारी दबाब सिर्जना गरेर प्रतिपक्षलाई आतंकित बनाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र राजनीतिक पूर्वाग्रहका आधारमा दमन गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

"सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु," देउवाले भन्नुभएको छ, "आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु ।"

पूर्वप्रधानमन्त्री देउवाले अहिले मुलुकमा फरक विचारप्रति असहिष्णुता बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । देशलाई यतिबेला विभाजन नभई एकता र प्रतिशोध नभई सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

बिपी कोइरालाको मेलमिलाप नीतिलाई आत्मसाथ गर्दै उनले प्रतिशोध र निषेधको राजनीति त्यागेर राष्ट्र निर्माणमा सहकार्य गर्न आह्वान गरेका छन् । राष्ट्रियता, प्रजातन्त्र र संविधानको रक्षाका लागि एकजुट हुन आह्वान गर्दै, देउवाले राज्यको दुरुपयोग विरुद्ध लड्नु कांग्रेसको ऐतिहासिक दायित्व भएको बताएका छन् ।

नेपाली राजनीतिका भित्री घटनाक्रम र ताजा अपडेटहरूका लागि esancharpati.com फलो गर्दै गर्नुहोला।


मङ्गलबार ५ साउन २०८३ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया