×

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

images

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज ( उजुरी दिन सकिने जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने भएको हो ।

उजुरीपछि यही माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

आयोगका अनुसार २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार त्यसमा महिला उम्मेदवार ३ सय ३६ र पुरुष २ हजार ५ सय ८९ जना छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको छ ।

बुधबार ८ माघ २०८२ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया