काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको भन्दै उनले अभिव्यक्ति दिएका थिए । त्यसक्रममा उनले कीर्ते कागजात प्रमाण भन्दै देखाएका थिए ।
प्रारम्भिक जाँचका क्रममा उनले देखाएको कागजात कीर्ते भएको र प्रधानमन्त्रीको हस्ताक्षर समेत दुरुपयोग गरिएको भन्दै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । भक्तपुरबाट उनलाई पक्राउ गर्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपाने समेत बोलाइएका थिए । प्रसाईंमाथि अहिले विद्युतीय अपराध नियन्त्रण ऐनविपरितको कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया