×

महानगरका गौरव योजना र स्वर्णिम योजनाको प्रगति तीन दिन भित्र बुझाउन निर्देशन

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरु ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति ३ दिनभित्र पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निर्देशन दिएका छन् ।

आज विभागीय प्रमुख र कार्यक्रमका फोकल पर्सनहरुसँगको संयुक्त बैठकमा उनले, आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना कहिले टुङ्गिने हो? अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण पेश गर्न भनेका हुन् । यी विवरणहरु सहरी योजना आयोग, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ र प्रमुख प्रकाशकीय अधिकृतको सचिवालयमा वुझाउनु पर्नेछ । 

चालु आर्थिक वर्षका लागि स्वीकृत भएका र सार्वजनिक खरिद प्रक्रियामा जानु पर्ने कार्यक्रमको अवस्थाका बारेमा जानकारी लिँदै उनले, कार्तिक मसान्तसम्ममा सूचनामा गइसक्नु पर्ने योजना त्यसअनुरुप कार्यान्वयनमा नगएको भए आउँदो १५ दिनभित्र पठाइसक्नु आग्रह गरे । त्यस अवधिमा पनि प्रक्रियामा नगएका योजनाका बारेमा सम्बन्धित अधिकारीले समीक्षामा जवाफ दिनु पर्ने उनको भनाइ थियो । 

बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, आन्तरिक सञ्चारको अभावमा प्राप्त उपलब्धिलाई अभिलेखन गर्न नसकिएको बताउँदै आपसी संवाद र समन्वयमा जोड दिए । 

नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा राखेको छ । यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । कतिपय योजना निर्माण सम्पन्न भइसके पछि त्यसको मर्मत गरे मात्र पुग्छ । कतिपय योजनालाई निरन्तर चलाउनु पर्छ । यो कामलाई व्यवस्थित गर्न, नतिजामा पुर्‍याउन सूचकका आधारमा मापन गर्न सकिने बनाउन योजना वर्गीकरण गरिएको हो । 

महानगर गौरवका योजना ११ वटा र स्वर्णिम योजना ३० वटा छन् । यी योजनाहरु पहिलो पटक १३औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमार्फत पेश भएका थिए । 

गौरव योजनाअन्तर्गत ‘उज्यालो सहर, मेरो महानगर’, ‘धुलोरहित सडक’, र ‘ढलरहित खोलानाला’ गरी ३ वटा योजना सार्वजनिक निर्माण विभाग अन्तर्गतका छन् । ‘महानगरले देख्छ’, र ‘सुशासनका लागि अनलाइन सेवा’ गरी २ वटा योजना सूचना प्रविधि विभागअन्तर्गत कार्यान्वयनमा छन् । ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना’, र ‘संस्कृति, सम्पदा र पर्यटन’, महानगरको धन’ गरी २ वटा योजना सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्छ । 

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’, सामाजिक विकास विभागले कार्यान्वयन गर्छ । ‘मेरो रहर, सुन्दर र हरित सहर’ उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ स्वास्थ्य विभागले र ‘गरी खाने शिक्षा, महानगरको इच्छा’, शिक्षा विभागले कार्यान्वयन गर्छ । 

३० वटा स्वर्णिम योजनामध्ये ‘सम्पदा मर्मत तथा संरक्षण’, ‘सांस्कृतिक महानगर’, ‘पर्यटकीय सहर’ र ‘ढुङ्गेधारा हिटी र पोखरी’ गरी ४ वटा कार्यक्रम सम्पदा तथा पर्यटन विभागअन्तर्गत कार्यान्वयनमा छन् । ‘साथी महानगर’, ‘सबैको योजना, सबैको विकास’, ‘स्वरोजगार नगरबासी’ र ‘क्लोथ बैङ्क’ गरी ४ वटा कार्यक्रम सामाजिक विकास विभाग अन्तर्गत कार्यान्वयनमा छन् । 

सार्वजनिक निर्माण विभागले ‘खेलकुद पूर्वाधार परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’ र ‘सुन्दर महानगर’ गरी ३ वटा कार्यक्रम कार्यान्वयन गर्छ । ‘नदी सरसफाइ’, ‘पोखरी सरसफाइ’, ‘जैविक मल परियोजना’ गरी ३ वटा कार्यक्रम वातावरण व्यवस्थापन विभाग अन्तर्गत छन् । ‘सुलभ फार्मेसी’, ‘स्वच्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ गरी ३ वटा कार्यक्रम स्वास्थ्य विभाग अन्तर्गत छन् । 

‘यातायात तथा सडक सुरक्षा’ र ‘स्मार्ट टोल’ गरी २ वटा कार्यक्रम सहरी व्यवस्थापन विभागले कार्यान्वयन गर्छ । ‘एकल सेवा केन्द्र’ र ‘श्रम वैङ्क’ गरी २ वटा कार्यक्रम प्रशासन विभागले कार्यान्वयन गर्छ । ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय गरी २ वटा कार्यक्रम शिक्षा विभागका छन् ।

‘पिउने पानी तथा सार्वजनिक शौचालय’ सार्वजनिक निजी साझेदारी एकाइले कार्यान्वयन गर्छ । ‘डुवान समाधान’ विपद व्यवस्थापन विभागले, ‘अनुसन्धान र अन्वेषण’ सहरी योजना आयोगले, ‘न्याय चौतारी’ कानुन तथा मानव अधिकार विभागले’, ‘इ रेन्टल’ राजस्व विभागले, ‘एग्रो पुलिङ् परियोजना’ कृषि तथा पशुपन्छी विभागले र ‘मेट्रो मार्ट’ सहकारी विभागले कार्यान्वयन गर्छ ।

बिहीबार ५ मंसिर २०८२ ०६:३५ PM मा प्रकाशित

प्रतिक्रिया