काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ। गए राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनल एक खेल अगावै च्याम्पियन बनेको हो।
खेलको ३८ औं मिनेटमा जुनिअर कुप्रीले गोल गर्दै घरेलु टोली बर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए।
यता, खेल सकिनै लाग्दा अन्तिम समयमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काएपनि सिटीलाई उक्त नतिजा प्रशस्त रहेन। आर्सनलले २२ वर्षपछि उपाधि जितेको हो। यसअघि २००३–४ सिजनमा टोलीले अपराजित रहँदै उपाधि जितेको थियो।
अब अर्को हप्ता अन्तिम खेल हुनेछ। आर्सनलको ३७ खेलबाट ८२ अंक रहेको छ भने दोस्रो स्थानका सिटीको ७८ अंक छ।
पछिल्ला वर्षहरूमा पटक–पटक उपाधि नजिक पुगेर चुकेका आर्सनल समर्थकहरूले सायद यस्तो दिन कहिल्यै नआउला भन्ने महसुस गरेका थिए। उत्सव केवल सडक र पबमा मात्र होइन, आर्सनलको प्रशिक्षण केन्द्रमा पनि भइरहेको थियो। त्यहीँ टोलीका खेलाडीहरू र प्रशिक्षक समूह जम्मा भएका थिए।
अन्तिम सिटी बज्नेबित्तिकै खेलाडी र स्टाफ नाचे, अँगालो मारे र एकै स्वरमा कराए ‘क्याम्पियोनेस, क्याम्पियोनेस, ओले ओले ओले!’ गत महिना आर्सनलका कप्तान डिक्लेन राइले म्यानचेस्टर सिटीसँग पराजित भएपछि ‘अहिले केही सकिएको छैन’ भनेका थिए।
तर मंगलबार उपाधि पक्का भएपछि उनले सामाजिक सञ्जालमा उत्सव मनाइरहेका खेलाडीहरूको तस्बिर राख्दै लेखे ‘अब काम सकियो।’ यो उपाधि मिकाइल अर्टेटाले प्रशिक्षक बनेको सातौँ वर्षमा आएको हो। यसले एउटा प्रशिक्षकलाई समय दिँदा के सम्भव हुन्छ भन्ने पनि देखायो।
एक समर्थक भन्छन् ‘आर्सनलले पछिल्लोपटक लिग जितेदेखि मैले बिहे गरें, बच्चा जन्मियो, ऊ अहिले किशोर भइसकेको छ, अनि मेरो डिभोर्स पनि भयो। तर फेरी आर्सनलले उपाधि जित्न सकेको थिएन्।’
प्रतिक्रिया