×

राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द

images

ईसञ्चारपाटी ब्यूरो
काठमाडौँअविरल वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकखण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै राति १०:०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि यस सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाएको हो।

विगत केही दिनदेखि भइरहेको लगातारको वर्षाका कारण चितवन र धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो खस्ने जोखिम बढेको छ। रातिको समयमा यात्रा गर्दा उद्धार कार्यमा समेत कठिनाइ हुने भएकाले सम्भावित मानवीय क्षति रोक्न यो कदम चालिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।

प्रशासनले यात्रामा निस्किसकेका सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोक्न र आम सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक रात्रिकालीन यात्रा नगर्न अनुरोध गरेको छ। सडकखण्डका मुख्य बजार क्षेत्र र सुरक्षित पार्किङ स्थलहरूमा गाडीहरूलाई रोक्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।

सडक यात्राका क्रममा कतै अलपत्र परेमा वा आपत्कालीन अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरहरूमा सम्पर्क गर्न प्रशासनले अपिल गरेको छ:

  • नेपाल प्रहरी (कन्ट्रोल): १००
  • सशस्त्र प्रहरी बल: १११४
  • चितवन प्रहरी प्रवक्ता: ९८५५०१३९९९
आइतबार​ ३ साउन २०८३ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया