×

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

images

तनहुँ,  ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो । 

रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले राससलाई बताउनुभयो ।  व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गर्नुभयो । 

व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ ।  कुल एक हजार नौ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार छ सय मिटर काम पूरा भएको छ भने नौ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिनुभयो । “आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।”

आइतबार​ ५ जेठ २०८१ ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया