जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पहिलोपटक सार्वजनिक भाषण गरेका छन् । जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित पार्टी सभालाई मैथिली भाषामा सम्बोधन गर्दै उनले आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।
बालेनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको दाबी गरे । उनले भने, “हम काम करेवाला आदमी छी। काम करे आए छी, काम देउ। काम करके देखाएब।” काठमाडौं महानगरपालिकाको मेयरको रूपमा कार्यरत रहँदा देशका सबै नागरिकका लागि चाहेजति काम गर्न नसकेको उनले बताए । उनले भने, “दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ। तर मेयर भएर पनि धेरै कुरा गर्न सकिनँ। अब गर्न चाहन्छु।”
उनले अधिकार माग्नका लागि नागरिकहरू काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफू अग्रसर हुने बताए। शाहले आफू काठमाडौं महानगरपालिकाको मेयर भएर काम गरिरहँदा काठमाडौंमा मधेशमा उखु किसानहरुले भुक्तानी नपाएर आन्दोलन गरिरहँदा आफू अधिकारको अभावले केही गर्न नसकी हेरेर बस्न बाध्य भएकोले संघीय सरकारकै नेतृत्व गर्न अगाडि सरेको बताएका छन् ।
उनले दैनिक भुक्तानी नपाएका किसानहरुले आन्दोलन गर्नुपर्ने, मिटर ब्याज पीडितहरु न्यायको लागि काठमाडौं जानुपर्ने अवस्थाको लागि आफू नेतृत्वमा आउन खोजेको बताए । उनले मधेशमा नेताहरुले समाजवादको कुरा गर्ने तर समाजवादको क्षेत्रमा काम नगरेको बताए । उनले भने ‘काठमाडौं महानगरपालिकामा हरेक वर्ष २० हजार विद्यार्थीहरुले छात्रवृत्तिमा महंगा महंगा स्कुल कलेजमा निःशुल्क पढ्न पाएका छन्, त्यो समाजवाद हो । हिजो काठमाडौंबाट मधेश झरेका नेताले ‘बिना ढेउवा के’ (पैसा बिना) श्रम बेच्न विदेश पठाउँछु भन्नु समाजवाद होइन ।’
काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे । ‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।
साथै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताए ।उनले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारीमा रहदा आफुले धेरै काम गरेको भन्दै अव मधेश र देशका लागि काम गर्ने बताए । मधेशको छोरालाई प्रधानमन्त्री बनाउनका लागि घण्टीमा मत दिन उले आग्रह गरे ।
त्यस्तै शाहले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई अधिकारबिहीन बनाइको उल्लेख गर्दै प्रदेशभित्रको अधिकार माग गर्न काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने बताए ।
प्रतिक्रिया