काठमाडौं, असोज २ — रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको सुरुङभित्रबाट नेपाली सेनासहितको उद्धार टोलीले ६ जनाको शव बाहिर निकालेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी लेदोसहितको बाढीका क्रममा आयोजनास्थलमा कार्यरत श्रमिकहरू थुनिएका थिए।
नेपाली सेना र आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले खोजी गर्ने क्रममा अडिट-३ सुरुङभित्र ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो। अप्ठ्यारो भौगोलिक संरचना र जटिल परिस्थिति कारण ग्रिण्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु जस्ता प्राविधिक उपकरण प्रयोग गरी शव बाहिर निकालिएको जनाइएको छ।
सुरुङभित्र थप बाक्लो हिलोमा अन्य शवजस्तै आकृतिहरू समेत देखिएकाले टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र रूपमा निरन्तरता दिइरहेको छ। यसअघि पनि चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट ५ जनाको शव निकालिएको थियो। हाल नेपाली सेना, स्थानीय प्रशासन, र प्राविधिक टोलीले विशेष उपकरण, पम्प र तालिमप्राप्त कुकुरको सहायताले हराइरहेका अन्य श्रमिकहरूको खोजी गरिरहेका छन्।
प्रतिक्रिया