×

कांग्रेस १५औँ महाधिवेशन: 'उद्घाटनको दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई ल्याउने कोसिस गर्छु'– गगन थापा

images

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका आन्तरिक विवाद र तिक्ततालाई बिर्सेर आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवासहित असन्तुष्ट पक्षका नेताहरूलाई विशेष आग्रह गर्नुभएको छ।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी एकताका लागि आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने बताउनुभयो।

"म १६ गतेसम्म कोसिस गर्छु। हामी सबै मिलेर कोसिस गरौँ," बैठकमा थापाले भन्नुभयो, "१६ गते अधिवेशनको उद्घाटन दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामीले गर्ने हो। अरू नेताले पनि कोसिस गरौँ।" पूर्वसभापतिज्यूले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा सिङ्गो पार्टी र आफ्ना निम्ति सम्मानको विषय हुने उहाँले उल्लेख गर्नुभयो।

सभापति थापाले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि हिलो छ्यापाछ्याप नगर्न नेताहरूलाई कडा निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, "आजदेखि सबै कुरा बिर्सेर त्यसलाई मेट्ने र आउँदो दिनमा थप कोसिस गरौँ। हाम्रा आफ्ना साथीहरूका बारेमा कसैले हल्का टिप्पणी गर्ने कुरा पनि आजबाट बन्द गरौँ। यो कांग्रेसको क्यारेक्टर होइन।"

पार्टीभित्र प्रियता र एकता एकजनाको चाहनाले मात्र सम्भव नहुने भन्दै उहाँले सबै नेता-कार्यकर्ताले जिम्मेवार भएर आ-आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभयो।

विशेष महाधिवेशनपछि उत्पन्न विवादमा विभिन्न पक्षले राखेका मागहरू सम्बोधन भइसकेको दाबी गर्दै थापाले अब छुट्टै महाधिवेशनको तयारी गर्नुपर्ने कुनै अवस्था नरहेको प्रष्ट पार्नुभयो। १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय भइसकेकाले पार्टीभित्र एकताको बलियो आधार तयार भइसकेको उहाँको भनाइ थियो।

"कसले कहाँ झुक्यो, कसले कसलाई के मान्यो भन्ने कुरा यसरी हेर्ने होइन," थापाले थप्नुभयो, "हामी सबै एक ठाउँमा आएर उभिएका छौँ।"

थापाले तल्लो तहका नेता–कार्यकर्तालाई कुनै पनि अलमलमा नपरी आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गर्नुभयो। अब पार्टीको आन्तरिक विवादबाट बाहिर निस्केर देश र नागरिकका मुख्य मुद्दामा केन्द्रित हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो।

आन्तरिक विवादका बीच बिहीबारको बैठकमा देउवा पक्षका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकमा सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना), इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल र किरण यादव लगायतको उपस्थिति थियो।

देउवा पक्षबाट बैठकमा ४० जनाभन्दा बढी नेताहरू सहभागी भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। आगामी शनिबारदेखि वडा अधिवेशन सुरु हुने भएकाले अधिकांश केन्द्रीय नेताहरू भने गृहजिल्ला प्रस्थान गरिसकेका छन्।

बिहीबार १ असोज २०८३ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया