काठमाडौं । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनले करिब तीन महिना अगाडि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई कुटपिट गरेको भिडियो मंगलबार बेलुकी आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले एक्सन लिएको थियो। प्रहरीले मंगलबार राति १०:४० बजे उनकै घरमा छापा मारी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मगरको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषधहरू बरामद गरेको छ, जसमा:
Pregamax: १ ट्याब्लेट
Trohmo: ४१ ट्याब्लेट
Antikop: २ ट्याब्लेट
Nitrazohm: ५ ट्याब्लेट
प्रहरीले सोही घटना र लागुऔषधको अनुसन्धानका क्रममा तुलसीपुर-२ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप कानुनी कारबाहीका लागि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया