×

अब २४ घण्टाभित्रै लाइसेन्स पाइने

images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौती-५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ’, तिमिल्सिनाले भने । केन्द्रमा करिब एक अर्ब रूपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने उनले बताए । नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन सञ्चारमन्त्रीले निर्देशन दिएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आउँदा दिनमा केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरलगायतका कागजात छाप्ने योजना सुनाए ।

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ । विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको ढुंगानाले बताए ।

शुक्रबार​ ४ बैशाख २०८३ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया