×

राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जाने : अध्यक्ष लिङ्देन

images

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्रसमेत घोषणा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनःस्थापना गर्ने थियो ।”

उहाँले राजसंस्था स्थापनाका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने बित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुने बताउनुभयो । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उहाँको भनाइ थियो । धनुषाको वीरेन्द्रबजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन आउनुभएको हो ।

आइतबार​ ४ बैशाख २०७९ ०८:३४ PM मा प्रकाशित

प्रतिक्रिया