काठमाडौं । सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो ।
नेपालले खेलको दशौं मिनेटमै गोल गरेको थियो । विंगर विमला चौधरीले हेडर गोल गरिन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गर्दै सात हजार समर्थकलाई खुसीयाली दिलाएकी थिइन् ।
तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो । सावित्रासँगै सविता रानामगर, रेखा पौडेल र रश्मीकुमारी घिसिङले बारम्बार अवसर पाएपनि गोल गर्न चुके ।
अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा भएको हो । यसअघि सन् २०१९ मा नाजेद्दा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । किर्गिस्तानको पोस्टमा दीपा राई र निरु थापाले समान एक गोल थपे । दीपा र निरु वर्तमान टोलीमा छैनन् । दुबैले संन्यास लिइसकेका छन् ।
प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा किर्गिस्तानविरुद्ध कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोष्टको जिम्मेवारी दिएका थिए । अञ्जिला यही प्रतियोगिता खेल्न ग्रिसको शीर्ष डिभिजन लिग छाडेर नेपाल आएकी हुन् ।
डिफेन्डरमा गीता रानालाई निशा थोकर, पुजा राना र विमला विकले साथ दिएका थिए । निशाले पहिलो पटक राष्ट्रिय टिमको प्लेइङ सेटमै खेल्ने अवसर पाएकी हुन् । मिडफिल्डमा पूर्व कप्तान रेनुका नगरकोटेलाई प्रीति राई, सविता रानामगर र विमला चौधरीले साथ दिए । नेपालको अग्रपंक्तिको जिम्मेवारी लिगमा सर्वाधिक ३५ गोल गरेकी रश्मीकुमारी घिसिङ र युएईमा ब्यवसायिक फुटबल खेलिरहेकी रेखा पौडेलले पाएका थिए ।
फ्रान्समा ब्यवसायिक फुटबल खेलेर विहान मात्रै नेपाल ओर्लिएकी स्टार स्ट्राइरकर सावित्रा भण्डारीलाई बेन्चमा राखेका थिए । खेलभर लेवनानले एकमात्रै मौका बनायो । खेलको ५५औं मिनेटमा लेवनानले काउन्टरमा पाएको बललाई कप्तान अञ्जिलाले बक्सभित्रबाट क्लियर गरेकी थिइन् ।
खेलको २१औं मिनेटमा नेपाल दोस्रो गोल गर्नबाट चुक्यो । सविताकै पासमा रश्मीले सिक्स यार्ड बक्समा पाएको बललाई प्रहार गर्न ढिला गर्दा किर्गिस्तानकी डिफेन्डरले क्लियर गरेर संकट टारेकी हुन् । खेलको २९औं मिनेटमा रेखाले बक्स भित्रबाट हानेको प्रहार किर्गिस्तानकी गोलकिपर दिल्नुरा अविदुला किजीले नियन्त्रणमा लिएका थिइन् ।
खेलको पहिलो हाफको इन्जुरी समयमा नेपाल लगातार गोल गर्नबाट चुक्यो । रश्मी र सविताले लगातार गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा नेपाल दोस्रो गोलबाट चुकेको थियो । लगत्तै रेखाले गरेको प्रहार लेवनानी डिफेन्डरले क्लियर गरेकी थिइन् ।
८१औं मिनेटमा किर्गिस्तानका डिफेन्डरले फुत्काएको बललाई सविताले बक्सभित्र भेटेपनि गोल गर्न सकिनन् । गोलकिपर बिट भएको अवस्थामा उनले गरेको प्रहार बाहिरिएको थियो ।
प्रतिक्रिया