काठमाडौं, ३२ असार । कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट तथा आक्रमणको घटनामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शाहको खोजी कार्य र कानुनी प्रक्रिया अगाडि बढाएको छ । सांसद शाहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि सामूहिक रूपमा अन्धाधुन्ध कुटपिट गरेको गम्भीर आरोप लागेको छ । पीडित शर्माका अनुसार:
सांसद शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख (मेयर) रजतप्रताप शाहसहित १५–२० जनाको समूह उनको निवासमै प्रवेश गरेको थियो । उक्त समूहले घरभित्रै पसेर शर्मामाथि अन्धाधुन्ध आक्रमण र कुटपिट गरेको दाबी गरिएको छ । घटनाको भिडियो समेत सार्वजनिक भएपछि पीडितले ज्यान सुरक्षा र कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।
लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिहरूका विरुद्ध आफूले आवाज उठाउँदै आएकाले प्रतिशोध साध्न सांसदकै आडमा नियोजित आक्रमण गरिएको पीडित शर्माको आरोप छ ।
कुटपिटको घटनामा सांसद शाह जोडिएपछि सुरुमा जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएका थिए । तर, घटनाको चौतर्फी विरोध र दबाब बढेपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो ।
कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरुद्ध मुद्दा दर्ता भइसकेको र अदालतको आदेशानुसार थप अनुसन्धान अघि बढ्ने जानकारी दिएका छन् ।
उता, आरोपी सांसद अभिषेकप्रताप शाहले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । आफ्नो क्षेत्रमा भएको विवाद र झगडा छुट्टाउनका लागि मात्र आफू उक्त स्थानमा गएको उनको भनाइ छ । तथापि, अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
प्रतिक्रिया