×

कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो- महामन्त्री थापा

images

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उउले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताए ।

“कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ”, महामन्त्री थापाले भने।

निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताउनुभयो । भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पु¥याउने जिम्मेवारी रहेको बताए। 

 “कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ”, उनले भने। विगतमा पार्टी छोडेकाहरुको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो। 
 

सोमबार ३० मंसिर २०८२ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया